इलामका बाढीपीडितको आवास निर्माण गरिदिने

इलाममा भीषण बाढी र पहिरोबाट विस्थापित परिवारका लागि सरकारले तत्काल अस्थायी आवास निर्माणको तयारी थाल्ने जनाएको छ। गृह सचिव रामेश्वर दंगालले प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास बनाइने र त्यसपछि तीनै तहका सरकार मिलेर स्थायी आवास निर्माण गरिने जानकारी दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मेची राजमार्गमा बाढीले अवरुद्ध बनाएका खण्ड भोलिसम्म सञ्चालनमा ल्याइने बताउँदै अवरोध हटाउन मधुसुधन आचार्यको नेतृत्वमा प्राविधिक टोली खटाइएको जानकारी दिए ।
भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलाम–१० को राजदुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना अघि बढाइएको बताए । उनले भने, ’यो क्षेत्र पुनर्निर्माणमा विशेष प्राथमिकताका साथ अघि बढ्छौं । सडक, खानेपानी र विद्युत् सबै संरचना पुनःनिर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्छौं ।’ सरकारले बाढीपीडित क्षेत्रहरूमा राहत वितरणसँगै पुनःस्थापनाको दीर्घकालीन योजना बनाउँदै लगिएको जनाएको छ।