बिर्तामोड वाणिज्य सङ्घको चुनाव : उम्मेदवार नउठाएकोमा राजवंशी व्यवसायीहरूको आपत्ति

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरू सङ्गठित भएका छन् ।उनीहरूले फागुन १६ गतेको वाणिज्य सङ्घको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरे । बिर्तामोड नगरपालिकाभित्र राजवंशी समुदायबाट ५ सयभन्दा बढीले व्यापार व्यवसाय गर्ने गरेको अन्तरक्रिया कार्यक्रममा बताइएको थियो ।
उनीहरूमध्ये वाणिज्य सङ्घको १६ गतेको निर्वाचनका लागि राजवंशी समुदायबाट ११८ जना मतदाता रहेका छन् ।अन्तरक्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरूले वाणिज्य सङ्घको चुनावमा संयुक्त व्यवसायी प्यानल र व्यवसायीहरूको लोकतान्त्रिक समूह दुवै प्यानलबाट राजवंशी समुदायबाट एक जना पनि उम्मेदवार नबनाउनु विडम्बना भएको बताए । उनीहरूले राजवंशी व्यवसायीलाई भोट बैङ्कका रुपमा मात्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।
प्रेम होटेलका सञ्चालक सुरेन राजवंशीले ११८ जना मतदाता रहेको बिर्तामोड वाणिज्य सङ्घको चुनावमा राजवंशी उम्मेदवार शून्य हुनु दुःखद भएको बताए । उनले वर्षौँदेखि र सयौँको सङ्ख्यामा राजवंशी समुदाय पनि व्यापार व्यवसायमा सक्रिय रहेकाले सबैलाई समेटेर जान वाणिज्य सङ्घका दुवै चुनावी प्यानललाई आग्रह गरे ।पूरण हिरालता सपिङ मलका सञ्चालक गोपालचन्द्र राजवंशीले राजवंशी समुदायको प्रतिनिधि बिना वाणिज्य सङ्घको नयाँ कार्यसमिति अपूरो हुने धारणा राखे । उनले नवनिर्वाचित समितिलाई कम्तिमा एक जना राजवंशी सदस्य मनोनीत गर्न आग्रह गरे ।न्यु लाइफ स्टाइलका सञ्चालक प्रमोद राजवंशीले वाणिज्य सङ्घको चुनाव पनि राजवंशी समुदायका लागि ‘भोट बैङ्क’ मात्र भएको धारणा राखे । उनले ५० जना मतदाता हुने सङ्गठनहरूले उम्मेदवार पाएको तर राजवंशी समुदायको ११८ जना मतदाता हुँदासमेत एक जना उम्मेदवार नपाउनु गम्भीर विषय भएको बताए ।
रोहण चस्मा घरका सञ्चालक राजन राजवंशीले वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिमा राजवंशी सदस्य मनोनीत गराउन सक्रिय पहल गर्न समुदायका आगुवाहरुलाई आग्रह गरे ।अन्तर्क्रियामा सहभागीहरूले सोमबार नै ‘राजवंशी व्यवसायी सङ्घ’ समेत गठन गरेका छन् । प्रेम होटेलका सञ्चालक सुरेन राजवंशी अध्यक्ष रहेको सङ्घको उपाध्यक्षमा गोपालचन्द्र राजवंशी, सचिवमा अर्जुन राजवंशी, कोषाध्यक्षमा चन्द्रमाया राजवंशी चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा राजन राजवंशी, वासुदेव राजवंशी, कमल राजवंशी, मोहनसिंह राजवंशी, दिलीप राजवंशी, लालसिंह राजवंशी र धर्मेश राजवंशी चयन भएका छन् । सहभागीहरूले वाणिज्य सङ्घको निर्वाचनमा बढीभन्दा बढी राजवंशी मतदाता एवं व्यवसायीहरूको सहभागिता गराउने गरी गतिविधि अघि बढाउन जोड दिएका छन् ।