२०८३ बैशाख २५ गते , शुक्रबार
पुरातत्त्व विभागद्वारा पातलगंगा र घैलाडुब्बा मन्दिरको अवलोकन
(प्रकाश पौडेल) मेचीनगर । पुरातत्त्व विभागले मेचीनगर–५ र ८ मा अवस्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्त्व विभागले लगापात घैलाडुब्बा मन्दिरको अवलोकन गरेको हो ।
धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको लगापात तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्त्व विभागले अवलोकन गरेको हो । पुरातत्त्व विभागका उपसचिव संदिप खनालको नेतृत्वको टोलीले लगापात तथा घैलाडुब्बा मन्दिरको अवलोकन गरेको छ ।
टोलीमा लक्ष्मण लम्साल, नवीन शर्मा र सुरेश पौडेलको सहभागिता थियो । मेचीनगर प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीको पहलमा विभागका उपसचिव खनाल नेतृत्वको टोली लगापात तथा घैलाडुब्बा मन्दिरको अवलोकन गर्न आजै मेचीनगर आएको थियो ।
पुरातत्त्व विभागले देशभर एक सय वर्ष पुगेका सबै सम्पदाको संरक्षण गर्ने अभियान सञ्चालन गरेको उपसचिव खनालले बताए । अवलोकनका क्रममा लगापात तथा घैलाडुब्बा मन्दिर पुरातत्त्व विभागले सञ्चालन गरेको अभियानमा समावेश गर्ने आधारहरू देखिएको बताए ।
उनले लगापात तथा घौलाडुव्वा मन्दिरलाई सय वर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समावेश गर्न आफ्नो सक्दो योगदान रहने बताए । प्रमाणका आधारमा यो सम्पदा एक सय वर्ष पुरानो सूचिमा समावेश भए पुरातात्त्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्त्व विभागले सहयोग गर्ने उनले बताए ।
अवलोकन कार्यक्रम नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, कार्यपालिका सदस्य टीकाराम मंग्राती मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा, मेचीनगर–८ वडाध्यक्ष बिकेन्द्र धिमाल, लगापात तथा घौलाडुव्वा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयवासीको सहभागिता थियो ।
धार्मिक इतिहास अनुसार अर्जुनले गौचरमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमिनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ती रहिआएको छ । जहाँ अहिले पनि बाह्रैमास पानी निस्किरहन्छ । धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख बिराम हुँदा यस मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरू आउने गर्दछन् । महाशिवरात्रीको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ । पातालगंगा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले यस क्षेत्रलाई सुन्दरता थपेको छ ।
ऐतिहासिक तथा धार्मिक इतिहास बोकेको यो क्षेत्रको उचित संरक्षण हुन सकेको छैन । पुरानो इतिहास बोकेको यो क्षेत्रको नजर पुरातत्त्व विभागमा परेको छ । पुरातत्त्व विभागबाट अवलोकन टोलीले केही समयमानै प्रतिवेदन तयार पारी यो क्षेत्रको विकासमा चासो देखाउने छ भन्नेमा स्थानीय विश्वस्त छन् ।